अब विशिष्टिकृत संस्थाबाट मात्र घरजग्गा किनबेच गर्न पाइने


अब विशिष्टिकृत संस्थाबाट मात्र घरजग्गा किनबेच गर्न पाइने


काठमाडौं । सरकारले अनौपचारिक रुपमा भइरहेको घरजग्गा किनबेचमा कडाई गर्ने भएको छ । संघीय संसदमा सरकारको आगमी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गदै राष्ट्रपति भण्डारीले घरजग्गा किनबेच विशिष्टिकृत संस्थाबाट मात्र गर्ने व्यवस्था मिलाइने बताएकी हुन् ।

सरकारले भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गर्ने भएको छ । अहिले घरजग्गा कारोबारीहरुले जथाभावी घरजग्गाको मूल्य तोक्दै आइरहेका छन्, जसले गर्दा घरजग्गाको बेलगाम मूल्य बृद्धि भइरहेको छ ।

आगामी वर्षको नीति तथा कार्यक्रममा भनिएको छ, ‘विशिष्टिकृत संस्थाबाट मात्र घरजग्गा काराबोर गर्ने व्यवस्था मिलाइने छ ।’ अहिले व्यक्ति तथा संस्था सबैले घरजग्गा किनबेच गर्न पाउने अवस्था छ ।

सरकारले आर्थिक वर्ष ०७७/७८ को नीति तथा कार्यक्रममा जग्गा जमिनको खरिद बिक्रीलाई औपचारिक प्रणालीभित्र ल्याउन ‘ल्यान्ड मार्केट’ कार्यान्वयनमा ल्याउने उल्लेख गरेको थियो । ल्यान्ड मार्केट निजी क्षेत्रले पनि सञ्चालन गर्न पाउने व्यवस्था थियो ।

नीति तथा कार्यक्रम अनुसार ल्यान्ड मार्केट स्थापनका लागि भूमि मन्त्रालयले समिति बनाएर अध्ययन समेत गराइसकेको छ । सो अध्ययनले शेयरको कारोबार हुने जस्तै गरी जग्गा जमिन काराबोर हुने बजार स्थापना गर्न सुझाव दिएको छ ।

तर, अनौपचारिक रुपमा भइरहेको घरजग्गा किनबेचलाई औपचारिक माध्यममा ल्याउन अध्ययन गरिए पनि अहिलेसम्म कार्यान्वयनका लागि कुनै पहल भएको भने देखिदैन । सरकारले आगामी बर्षको नीति तथा कार्यक्रममा पनि विशिष्टिकृत संस्थामार्फत घरजग्गा किनबेच गराउने विषयलाई निरन्तरता दिएको हो । 

Photo: Onlinekhabar

Comments

There are no comments yet


Leave a Comment
 
^ Go up