घरजग्गा धितो बन्धक राखेर बैंकबाट कर्जा लिँदा मालपोतमा कति राजश्‍व तिर्नुपर्छ ?


के तपाईं घरजग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदै हुनुहुन्छ ? यदि लिँदै हुनुहुन्छ भने बैंकले दिने कर्जाको मालपोत कार्यालयमा घरजग्गा धितो बन्धक राख्दा तिनुपर्ने राजश्‍वको दरका बारेमा पनि जानकारी हुनु राम्रो हुनेछ । 

राजश्‍वको दर थाहा पाउँदा तपाईंलाई पैसाको जाेहो गर्न पनि सहज हुनेछ ।

घरजग्गा धितो नराखी कुनै पनि बैंक तथा वित्तीय संस्थाले तपाईंलाई ऋण पत्याउँदैनन् । नेपालमा ऋण दिनका लागि बैंकहरुले स्वीकार्ने भरपर्दो ‘धितो’ भनेकै ‘घरजग्गा’ हो । बैंकहरुले ऋण प्रवाह गर्नुअघि तपाईंको घरजग्गा सम्बन्धित मालपोत कार्यालयमा लगेर बन्धक राख्छन् र ऋण प्रवाह गर्छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले तपाईंको प्रोपर्टीको बजारमा चलनचल्तीको मूल्य र थैली रकम (सरकारी मूल्यांकन)लाई आधार बनाएर फेयर मार्केट भ्यालू निकाली राष्ट्र बैंकले तोकेको नियमबमोजिम ४० देखि ६० प्रतिशतसम्म घरकर्जा प्रवाह गर्छन् ।

मालपोत कार्यायले धितो-कर्जा रकमको आकारलाई आधार मानेर मालपोत कार्यालयले धितो बन्धक राख्दा फरक फरक दरको राजश्‍व लिने गर्छन् । बैंकले मालपोत कार्यालयलाई पठाएको पत्रअनुसार धितो बन्धक राखेको राजश्‍व लिने गरेको मालपोत अधिकृत बताउँछन् । 

आज हामी बैंकबाट कति रकम कर्जा लिँदा मालपोत कार्यालयले धितो बन्धक राख्दा कति राजश्‍व लिने गर्छन भनेर तपाईंलाई जानकारी गराउन गइरहेका छौं ।

बैंक तथा वित्तीय संस्थाहरुले ऋणीलाई जति रकम कर्जा दिने भनेर प्रोपर्टी (घरजग्गा) धितो रोक्का गर्न खोजेको छ, बैंकको त्यही पत्रको आधारमा मालपोत कार्यालयले राजश्‍व लिएर तपाईंको धितो दृष्टि बन्धक राख्‍ने गर्छन् । 

भूमि सुधार तथा मालपोत कार्यालय ललितपुर (लगनखेल)का अनुसार, मालपोत कार्यालयले ५ लाख रुपैयाँ सम्मको धितो–कर्जा रकममा ३ हजार रुपैयाँ राजश्‍व लिने गर्छन् । 

पाँच लाखदेखि २० लाख रुपैयाँसम्मको धितो–कर्जा रकममा ५ हजार रुपैयाँ, २० लाखदेखि ५० लाखसम्म ८ हजार रुपैयाँ, ५० लाखदेखि एक करोड सम्मको धितो–कर्जा रकममा २५ हजार रुपैयाँ राजश्‍व मालपोत कार्यालयलाई बुझाउनुपर्छ ।

एक करोडदेखि दुई करोडसम्मको धितो–कर्जा रकममा ५० हजार रुपैयाँ, दुई करोडदेखि ५ करोडसम्म धितो–कर्जामा ७५ हजार, ५ करोडदेखि १० करोडसम्मको धितो–कर्जा रकममा एक लाख १० रुपैयाँ राजश्‍व तिर्नुपर्छ ।

यस्तै, १० करोडदेखि १५ करोडसम्मको धितो कर्जा रकममा एक लाख २५ हजार, १५ करोडदेखि २० करोडसम्म एक लाख ५० हजार, २० करोडदेखि ५० करोडसम्मको धितो–कर्जा रकममा मालपोत कार्यालयले धितो बन्धक राखे वापत एक लाख ७५ हजार रुपैयाँ राजश्‍व लिन्छन् ।

५० करोडदेखि एक अर्बसम्म धितो–कर्जा रकमको दुई लाख रुपैयाँ र एक अर्बभन्दा बढीको थैली अंकमा ३ लाख रुपैयाँ राजश्‍व बुझाउनुपर्ने हुन्छ ।

यहाँ बुझ्‍नै पर्ने अर्को कुरा, यदि बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट दिने कर्जाको थप धितो बन्धक वा दृष्टिबन्धक लिखतमा अघिल्लो पारित लिखतमा उल्लेख गरिएको रकममा थप हुने रकम समेत जोडी कायम हुने कुल धितो रकमको आधारमा सेवा शुल्क लाग्छ ।

एउटै कारोबारबाट २० लाख रुपैयाँ वा सोभन्दा माथिको घर वा जग्गा खरिद बिक्री गर्दा क्रेताले बैंकबाट भुक्तानीको लागि योग्य भनि छाप लागेको चेकको फोटोकपी पेश गरिसकेपछि वा विक्रेताका नाममा बैंकमा रहेको खातामा रकम जम्मा गरेको बैंक भौचरको फोटोकपी पेश गरिसकेपछि मात्र लिखत पारित हुने मालपोत कार्यालय ललितपुरले जनाएको छ ।

यस्तो छ धितो बन्धकमा राजश्‍वको दर

धितो/कर्जा रकम- राजश्व दर

५ लाखसम्म- ३ हजार

५ लाखदेखि २० लाखसम्म- ५ हजार

२० लाखदेखि ५० लाखसम्म- ८ हजार

५० लाखदेखि १ करोडसम्म-२५ हजार

१ करोडदेखि २ करोडसम्म-५० हजार

२ करोडदेखि ५ करोडसम्म-७५ हजार

५ करोडदेखि १० करोडसम्म-१ लाख १० हजार

१० करोडदेखि १५ करोडसम्म-१ लाख २५ हजार

१५ करोडदेखि २० करोडसम्म-१ लाख ५० हजार

२० करोडदेखि ५० करोडसम्म-१ लाख ७५ हजार

५० करोडदेखि १ अर्बसम्म-२ लाख

१ अर्बभन्दा बढी थैली अंकमा- ३ लाख

नेपाल होम्सबाट 

Comments

There are no comments yet


Leave a Comment
 
^ Go up